ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन
नेपालमा आज शनिबार १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएका छन् ।
नेपालमा यो सहित कुल कोरोना सँक्रमित १८ हजार ४८३ जना पुगेको पनि उनले बताए । डा गौतमका अनुसार आज देश भरका विभिन्न क्वारेन्टिनमा १८ हजार १८३ जना रहेका छन् । दैनिक भारत र अन्य मुलुकबाट दुई देखि तीन हजार नेपाली आउने क्रम जारी भएकाले केही दिनबाट यही क्वारेन्टाईनमा बस्नेको सँख्या उस्तै देखिएको पनि उनले mबताए । यस्तै आज विभिन्न आईसोलेसन सेन्टरमा ५ हजार ३८५ जन कोरोना सँक्रमित उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर डिस्चार्ज हुनेको सङ्ख्या १०६ जना रहेको पनि डा. गौतमले बताए । योसँगै आजसम्म नेपालमा १३ हजार ५३ जना कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट एक जनाको मृत्यु भएको पनि डा. गौतमले बताए । कोरोनाबाट बाराको परवानीपुर घर भएकी १७ वर्षीय युवतीको बिहिबार दिउँसो मृत्यु भएको थियो । बीरगञ्जका नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । बिहिबार बेलुका उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४५ जना पुगेको छ ।
शनिबराको रिपोर्ट अनुसार भोजपुर, पाँचथर, सँखुवासभा, रसुवा, मनाङ र मुस्ताङ सहित ६ जिल्लामा कोरोना सँक्रमित सबै ठिक भएर घर फर्किएका कारण यी जिल्लामा अहिले १ जना पनि कोरोना सँक्रमित छैनन् ।