अमिताभ र अभिषेकलाई कोरोना, अस्पताल भर्ना, जया र ऐश्वर्याको रिपोर्ट नेगेटिभ


एजेन्सी
मुम्बई, २७ असार

बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् । शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ ।

आफुलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल ट्विटर मार्फत जानकारी शनिबार राती नेपाली समय अनुसार ११ बजेर ८ मिनटमा जानकारी गराएका छन् । कोरोना संक्रमित भएपछि अमिताभलाई शनिबार राती मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको छ ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

यसरी ७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । लकडाउन खुलेपछि अभिनेता अमिताभले कौन बनेका करोडपति सहित अन्य छायाँकन सुरु गरेका थिए । सो क्रममा उनले पूर्ण सावधानी अपनाए पनि आफुलाई कोरोनाबाट सुरक्षित राख्न सकेनन् ।

अमिताभलाई अस्पताल भर्ना गरेको केही समयपछि अभिषेकमा पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो । अभिषेकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनलाई शनिबार मध्यराती अस्पताल लगिएको छ । यसरी कोरोना सँक्रमित भएपछि अमिताभ र अभिषेक दुबैजनालाई अस्पताल भर्ना गरिएको हो । तर अभिताभकी पत्नी एवम् अग्रज अभिनेत्री जय भादुडी र अभिनेत्री ऐश्वर्य राय बच्चनको कोरोना टेस्ट नेगेटिभ आएको छ ।

अमिताभ र अभिषेकलाई कोरोना सँक्रमण भएपछि देश बिदेशका प्रसँसकदेखि सिनेकर्मी, आफन्तसम्मले उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बच्चन परिवारका दुई सदस्य अमिताभ र अभिषेकमा कोरोना सँक्रमण देखिएपछि उनीहरुको घर शनिबार मध्यरातमा शिल गरिएको छ । जया र ऐश्वर्यालाई केही दिन अलग रुपमा क्वारेन्टाईनमा बस्न स्वास्थ्य विभागले अनुरोध गरिएको छ ।

शनिबार राती नै अमिताभको घरका काम गर्ने कामदार र उनको अफिसमा काम गर्ने कर्मचारीको पनि स्वाव नमुना सँकलन गरेर परिक्षणको लागि पठाईएको छ । अभिषेक र ऐश्वर्याकी छोरी आराध्याको कोरोना रिपोर्ट बारे शनिबार मध्यरात पछि पनि खुलाईएको छैन ।