पोखरामा पहिरोबाट ६ जनाको मृत्यु, ११ घाईते


ब्युटी न्युज नेपाल

पोखरा, २६ असार

पोखराको विभिन्न स्थानमा गएरातीको पहिरोले ६ जनाको जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा अन्य ११ जना घाइते भएका छन् । दुई दिन देखिको अबिरल वर्षाका कारण कास्कीमा बाढी र पहिरोले ठुलो क्षती पुर्याएको छ । पोखरा महानगरपालिका १८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको मृत्यु भएको हो । थापासँगै उनकी श्रीमती र ३ जना नातीनातिनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

 मृतकलाई पहिरोबाट निकालिएको छ भने घाईतेलाई उद्धार गरेर उपचारका लागि पठाईएको छ । घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल अस्पतालमा लगिएको उनले बताए । प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । २ जना भने पहिरो आएको थाहा पाएपछि जोगिएका छन् ।

उता पोखरा महानगरपालिका २५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिराले पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ । पोखराकै छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरूको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको हमालले जानकारी दिए ।

गएराती नै पोखरा ५ मालेपाटमा पनि २ जना घाइते भएको पनि प्रहरीले जनाएको छ । रातीभरीको पानीले पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको पनि प्रहरीले जानकारी गराएको छ ।