कोरोना सँक्रमित स्याङजाका ६० वर्षीय पुरुषको निधन, नेपालमा कोरोनाबाट मृतक १४ पुग्यो


ब्युटी न्युज नेपाल
पोखरा, २६ जेठ

नेपालमा फेरी कोरोनाबाट मृतक एक जना थपिएको छ । स्याङजाको वालिङका एकजना कोरोना संक्रमण पोजेटिभ भेटिएका ६० वर्षीय पुरुषको पोखरामा निधन भएको छ । उनको निधनसँगै नेपालमा कोरोना सँक्रमणबाट निधन हुनेको सँख्या १४ पुगेको छ ।

वालिङ नगरपालिका ३ निवासी ६० बर्षका पुरुषमाको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताएका छन् । ती व्यक्तिको आइतवार बेलुका मात्र कोरोना पुष्टि भएको पनि उनले जानकारी गराए ।

अस्पतालका चिकित्सकका अनुसार उनी गत २१ जेठमा भारतबाट वालिङ आईपुगेका थिए । उनमा ज्वरो लगायतको समस्या देखिएपछि २२ जेठ बिहान बिहानै पोखरा ल्याएर अस्पताल भर्ना गरिएको हो । उनमा मृगौला र मधुमेयलगायतका समस्या पहिलेबाट नै भएको बताइएको छ ।

सुनौलीबाट श्रीमान् श्रीमति मात्रै गाडी रिजर्भ गरेर आएर वालिङको क्वारेटाइनमा एक रात बिताएका थिए । उनी कोरोना संक्रमणबाट स्याङ्जामा निधन हुने पहिलो हुन् । उनी भारतबाट आएदेखि एक्लै बसेको परिवारले जनाएका छन् । उनको पत्नीको पनि कोरोना परिक्षण गरिने भएको छ ।