नेपालमा कोरोनाबाट १२ औं व्यक्तिको निधन, मृतक डोल्पाका पुरुष 


ब्युटी न्युज नेपाल

नेपालगञ्ज २४ जेठ

नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट फेरी एक जनाको निधन भएको छ । कर्णाली सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।  उनको निधनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १२ जना पुगेको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

उनको गत २१ जेठमै निधन भएको हो । मृत्युपछि परिक्षण गर्दा उनमा कोरोना सँक्रमण आजमात्र पुष्टी भएको हो । उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पठाइएको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी बताएका छन् ।

५८ वर्षीय मृतक व्यक्ति गत १८ जेठ नेपालगञ्जबाट सुर्खेत, जुम्ला हुँदै डोल्पा पुगेका थिए । उनलाई गाउँ गएपछि स्थानीय निकायले डोल्पामा आरडीटी परीक्षण गर्न लगाएको थियो । आरडीटी परिक्षणमा उनको रिर्पोट नेगेटिभ आएको थियो । त्यहीपनि उनी आफ्नो घर गएर होम क्वारेन्टिनमा बसेका थिए । जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले यसपटिक आरडिटी परिक्षणले धोका दिएको बताएका छन् । ती व्यक्तिको निधन पछि उनको परिवारको पनि स्वाब सँकलन गरिने भएको छ ।