ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ,
काभ्रेको धुलिखेल अस्पतालमा बिहिबार राती निधन भएकी बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको दाहसँस्कार पशुपति आर्यघाटमा गरिदैछ ।
धुलिखेल अस्पतालमा स्वाब परिक्षण गर्दा उनको कोरोना सँक्रमण पोजेटिभ देखिएको छ । उनको कोरोना सँक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले भरखरै पुष्टी गरेको हो ।
नेपालमा कोरोनाबाट पहिलो मृतक हुने यी महिला हुन् । यस अघि नेपालमा कोरोनाबाट मृत्यु भएको थिएन । यी महिलाको मृत्युसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु पनि सुरु भएको छ ।
ती महिलाको दाहसँस्कारको जिम्मा सुरक्षाकर्मीले लिएका छन् । ति महिलाको शवलाई शव बाहनमार्फत पशुपति आर्यघाट लगिएको प्रहरीले जनाएको छ ।
परिवारको सदस्यको रोहबरमा आफुहरुले ती महिलाको दाहसँस्कार गर्न लागेको नेपाल प्रहरीका एक अधिकृतले बताएका छन् ।
कोरोना सँक्रमणबाट निधन भएकाको पूर्ण सुरक्षित रुपमा सुरक्षाकर्मीमार्फत दाहसँस्कार गरिने नियम सरकारले बनाएको छ । सोही नियम अनुसार उनको दाहसँस्कार पूर्ण सुरक्षाका साथ गर्न लागिएको हो ।
शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् । गाउँमा निकै ज्वरो आएपछि जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै घर लगियो । गम्भीर बिरामीलाई अस्पताल नलगेर घर लगेपछि स्थानीयहरुले सुत्केरीका आफन्तलाई अस्पताल लैजान दबाब दिए । जेठ १ गते बिहीबार साझँ धुलिखेल अस्पतालमा ल्याइएको थियो ।त्यसपछि धुलिखेल अस्पताल भर्ना भएकी थिईन् ।
बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो । २३ गते ती महिला सुत्केरी भएकी हुन् । आमा छोराको अबस्था सामान्य भएपछि उनी घर गएकी हुन् । उनी बैशाख २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी थिईन् । त्यसपछि गाउँ गएकी हुन् । १० दिनको बच्चा रहेको बताइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख झाले बताएका छन् ।
मृतक महिलाको माईती गाउँ र घरमा पनि स्थानीय निकायले सिल गरेको छ । सुरक्षाकर्मीको समन्वयमा आफन्तलाई छुट्टै क्वारेन्टाईनमा राख्ने काम हुँदैछ ।
ती महिलाको कोरोना पुष्टी भएका कारण उनको सम्पर्कमा आएका आफन्तहरुको पनि स्वाब परिक्षणको लागि भोली बिहानैबाट सँकलन कार्य सुरु गरिने भएको छ । उपचारका क्रममा ती महिलाको सम्पर्कमा आएका धुलिखेल अस्पताल र अन्य अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पनि स्वाब परिक्षण गरिने भएको छ । धुलिखेल अस्पतालमा अहिले इमरजेन्सी बाहेक अरु बन्द गरिएको छ ।