ब्युटी न्युज नेपाल
राजबिराज, २९ बैशाख
आज सप्तरी जिल्लामा पनि एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । सप्तरीको यो पहिलो कोरोना सँक्रमित केस हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा बस्ने १८ वर्षका एक युवाको कोरोना भाईरस परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी युवालाई कोरोना सँक्रमण भएको पुष्टि गरेको छ । सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ । चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए । उनी क्वारेन्टाईनमै छन् ।
ती युवकको कोरोना भाईरस संक्रमणबारे स्वाबलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार जाँच गदा परिणाम पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति प्रकाशित गर्दै ती युवामा कोरोना सँक्रमण पोजेटिभ देखिएको जनाएका छन् । संक्रमित युवा अहिले पनि स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको उनले जनाएका छन् ।
यो सहित आज मात्र ११ जनामा कोरोना सँक्रमण देखिएको छ । बिहानमात्र कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको पनि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।