ब्युटी न्युज नेपाल
रोल्पा, १८ बैशाख
रोल्पाको त्रिवेणी गाउँपालिका–७ हलंगा नजिक मैतीकाटिना दुम्लाखोला नजिक बम बिस्फोट हुँदा ४ बालबालिकाको घटना स्थलमै मृत्यु भएको छ । उनीहरु बाख्रा चराएर घर फर्कने क्रममा बिहिबार बेलुकी साढे ५ बजेतिर सो बम विस्फोट भएको हो । बिस्फोटमा एकैघरका २ सहित ४ जना बालबालिकाको ज्यान गएको हो ।
विस्फोटबाट मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ७ मैतीकाटिनाका लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, ११ वर्षीया छोरी बिमला खत्री, सोही स्थानका ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखीराम डाँगी र वडा नम्बर ४ छेपका लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपाली रहेका छन् ।
त्रिवेणी गाउँपालिका २ का वडाअध्यक्ष कविराज बुढाका अनुसार बिहिबार साँझ बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा विस्फोटमा परी ४ जनाको ज्यान गएको थियो । त्यतिबेला ती बालबिालका बाख्रा चराएर घर फर्कदै गर्दा बम बिस्फोट भएको हो।
घटना स्थलमाराइफलको गोली जस्तो देखिने अर्काे बम पनि रहेकाले घटनास्थलमा दहवनबाट नेपाली सेनाको टोली आउने जानकारी प्राप्त भएको बुढाले बताए ।
घटना स्थलमा अर्को पनि बम देखिएपछि त्यहाँबाट बिहिबार रातीसम्म पनि मृतक बालबालिकाको शब उठाउन सकिएन । अब शुक्रबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर बम डिस्पोलज गरेपछि मात्र ती बालबालिको शब उठाउन सकिने प्रहरीले जनाएको छ ।
एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन् । गाउँमा त्रास फैलिएको छ । बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका पनि गरिएको छ । घटना स्थललाई अहिले जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट गएका प्रहरीले सुरक्षा दिईरहेका छन् ।
विगतको सशस्त्र युद्धका बेला छोडिएको बम हुन अनुमान समेत गरिएको छ । तथापि बम पुरानो वा नयाँ रहेको भनी अनुसन्धान भइरहेको छ । रोल्पामा शान्ति प्रक्रिया यता बमबाट करिव दर्जन बालबालिकाको ज्यान गईसकेको प्रहरीले बताएको छ ।