१५ बैशाखसम्म थपियो लक डाउन


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

फेरी १२ दिनको लागि मुलुकमा लकडाउन अर्थात बन्दोबन्दी थपिएको छ । आज मँगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो । तीन दिन यताबाट बीरगञ्ज रौतहत र काठमाडौंमा गरेर ६ जना कोरोना सँक्रमित थपिएपछि सरकारले मुलुक लकडाउनको अबधि बढाएर १५ बैशाखसम्म पुर्याएको हो ।

मँगलबार बसेको मन्त्री परिषदको बैठकले अहिलेको अबस्थामा कोरोनाबाट नेपालीलाई जोगाउन घर भित्रै रहनु उचित भएको ठहर गरेको छ । सोही अनुसार नेपालमा लक डाउन थपेर १५ बैशाखसम्मलाई पु¥याईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए । सो भिडियो बार्तामा सबै प्रदेशका मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए । काठमाडौं बाहिर प्रदेश २, गण्डाकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा पनि कोरोना सँक्रमित देखिएपछि मुख्यमन्त्रीहरुले लकडाउनको समय थप्न अनुरोध गरेका थिए । सोही अनुरोध अनुसार पनि लक डाउनको समय थपेर १५ बैशाखसम्म पुर्याईएको छ ।

यस्तै मन्त्री परिषदको बैठकले नेपाल भारतको सिमाना यो वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । पछिल्लो समय भारतबाट आएकाहरुमा एक पछि अर्को गर्दै कोरोना सँक्रमण देखिएपछि मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । उता छिमेकी मुलुक भारतले पनि अरु २१ दिन लक डाउनको समय थपेको छ । अब त्यहाँ मे ३ सम्म लक डाउन हुनेछ ।

यता बिदेशबाट आउनेहरुमा कोरोना सँक्रमणसँगै आउने अबस्थालाई मध्यनजर राख्दै सरकारले यही वैशाख १८ गतेसम्म नै नेपाल आउने सबै अन्तराष्ट्रिय उडान बन्द गरेको छ । यो निर्णय मन्त्री परिषदको अघिल्लो बैठकले नै गरेको हो ।
नेपालमा कोरोना सँक्रमितको सँख्या १६ जना पुगेको छ । यता आज मात्र काठमाडौंका पेप्सिकोला स्थित टाउन प्लानिङको सन सिटी अपार्टमेन्टमा बसेका एकै परिवारका दुई जनालाई कारोना सँक्रमण पुष्टी भएको हो ।

यस्तै रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।