प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

दुई दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको अप्रेसन सुरु भएको अस्पतालले जनाएको छ । उनलाई बुधबार बिहान १० बजे अप्रेसन थिएटरमा लागिएको हो । मंगलबार उनको प्रि–ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि समस्य नदेखिएपछि आज अप्रेसन सुरु गरिएको हो ।

आज प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया दिउँसो २ बजेसम्म सकिने भनाई चिकित्सकहरुको छ ।

प्रधानमन्त्री ओलीको आज बिहान ९ बजेबाट प्रत्यारोपण गर्ने भनिए पनि तयारीका कारण १० बजेमात्र अप्रेसन थिएटरमा लगिएको हो । प्रत्यारोपण सफल भएमा ५–६ दिनमा डिस्चार्ज गर्न सकिने पनि चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका छन् । टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहेका छन् ।

उपचारको क्रममा प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि समसया नआओस भनेर मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा छन् । उपचारमा नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्दैछिन् ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन् । त्रिबिबी अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआईपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ ।