ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असोज
प्रदर्शनको समय एक साता बाँकी रहँदा सम्बन्धित कलाकारले प्रचार प्रचारमा समय नदिएको भन्दै चलचित्र पोई पर्यो कालेको निर्माताहरुले अहिले दुःख व्यक्त गरेका छन् । चलचित्रका दुई कलाकार बिदेशमा हुनु, एक नायिका छायाँकनमा व्यस्त रहनु र बाँकी एक नायकले पनि प्रचारमा खुलेर समय नदिनुले निर्माताहरु दुःखी भएका हुन् ।
यो चलचित्रकी नायिका पूजा शर्मा यतीबेला नयाँ चलचित्र म यस्तो गीत गाउँछु २ को छायाँकनमा छन् । दुई दिन अघि केही सिमित युट्युव च्यानलमा अभिनेता आकाश श्रेष्ठसँग यी अभिनेत्रीले अन्तरवार्ता दिए पनि फिल्मको छायाँकनको कारण उनले पोई पर्यो कालेको दैनिक प्रचारमा पूर्ण समय दिन सकेकी छैनन् ।
अभिनेत्री पूजा शर्मा चलचित्र प्रदर्शनको सँघारमा आफ्नै गृह व्यानरको चलचित्रको छायाँकनमा व्यस्त भएपछि एक्लो भएका कारण अभिनेता आकाश श्रेष्ठले पनि प्रचारमा खुलेरसमय दिएका छैनन् । यता यो फिल्ममा कालेको भूमिका निर्वाह गरेका अभिनेता सौगात मल्ल यतीबेला बेलायतमा छन् । उनी दशैं अघि नै चलचित्र पोई पर्यो कालेकी नायिका तथा आफ्नी प्रेमिका सृष्टी श्रेष्ठसँग बेलायत गएका हुन् । बेलायत जानु अघि हतारमा यी दुईले सिमित युट्युव च्यानलमा अन्तरवार्ता दिए पनि राष्ट्रिय दैनिक र राष्ट्रिय टेलिभिजन तथा अनलाईन मिडियामा यी दुईले अन्तरवार्ता दिन भ्याएनन् । उनीहरु अब फिल्म रिलिजको समयमा मात्र नेपाल आउने छन् ।
यता नेपालमै रहेका अभिनेता आकाश र अभिनेत्री पूजाले पनि राष्ट्रिय सञ्चार माध्यममा फिल्मका बारे आफ्ना बिचार राख्न भ्याएका छैनन् । उनीहरुले यो फिल्मको प्रचारका लागि मोफसल यात्रा पनि गर्न सकेका छैनन् । जसका कारण आफुहरुले चाहेर पनि फिल्मको प्रचारमा कलाकारले समय नदिँदा नभएको निर्माण पक्षको गुनासो छ । चलचित्रका निर्देशक शिशिर राणाले पनि यो कुरालाई मनन गरेका छन् ।
८ कात्तिकमै अर्को नेपाली चलचित्र घामड शेरे र प्रभावशाली भनिएको हिन्दी फिल्म हाउसफुल ४ रिलिज हुने भएपछि पोई पर्यो कालेको प्रचारबारे यो फिल्मका निर्माण पक्ष चिन्तित भएका हुन् ।