ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन
काठमाडौंको नक्सालस्थित भाटभाटेनी सुपरमार्केट नजिक ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । सो बुटिकको अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष उज्जलकृष्ण श्रेष्ठले उद्घघाटन गरेका छन् ।
फेसन डिजाइनरद्वय नैना राई र सम्झना राईले सो बुटिकलाई सञ्चालनमा ल्याएका हुन् । ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा नैना र सम्झनाले भने, ‘बुटिक फेसन भन्नेवित्तिकै महँगो होला भन्ने बुझाइ छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ ।’ उनीहरुले सर्वसाधारण व्यक्तिको पहुँच पुग्नेगरी दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए ।
उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटर्स’ को विशेषताबारे आफूलाई मनपरेको बताइन् । उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन ।’ अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन् ।
नैना र सम्झनाले आईआईएफटीबाट डिप्लोमा कोर्ष सकेपछि दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएका सुनाए । उनीहरुले राजधानीमा खुलेका अन्य बुटिकहरुभन्दा फरक सेवा प्रदान गर्ने समेत दावी गरेका छन् ।
डिजाइनर तथा सञ्चालिकामध्ये नैनाले भनिन्,‘दी पोश आउटफिटर्सको स्लोगन नै सिम्पल एण्ड क्लासिक राखेका छौँ । हामी अर्डरअनुसार अन्तर्राष्ट्रियस्तरको पहिरन सर्वसुलभमा उपलब्ध गराउँछौँ । हामी चाहन्छौँ, बुटिकमा सबैको पहुँच पुगोस् ।’
दी पोशले विशेषगरी क्याजुअल पहिरनमा ध्यान दिए पनि अर्डरअनुसार सारी, गाउन, टप्स, कुर्था–सुरुवाल इत्यादी तयार गर्ने सम्झनाले बताइन् । दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ । नैना र सम्झना इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)को उत्पादित डिजाइनर हुन् ।
बुटिक एशोसिएनका अध्यक्ष श्रेष्ठले कार्यक्रममा बोल्दै डिजाइनरद्वयलाई शुभकामना दिए,‘फेसनको दुनियाँमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले बुटिक सञ्चालनमा ल्याएकामा खुसी लाग्यो’ उनले भने, ‘यहाँहरुलाई सफलताको शुभकामना छ ।’
त्यस्तै, हेयर स्टाइलिस तथा फेसन डिजाइनरसमेत रहेका निलडेभिड कटवालले दि पोशको बुटिक कन्सेटको प्रसंशा गर्दै भने, ‘अन्य बुटिकहरुभन्दा फरक सोच र उद्देश्यले सञ्चालनमा आएको यो बुटिकले पक्कै फेसन पारखीको चाहनालाई पूरा गर्ने छ भन्ने मलाई लागेको छ ।’